Sunday, January 1, 2012

2012 लाई स्वागत गर्दै.... !

घर आउँदा बत्ति थिएन । राजधानीको बाटोभरी नयाँ बर्षको एउटा अलग्गै रौनक थियो, उत्साह थियो । साज-सज्जा गरेर घर बाहिर निक्लिएका जमातहरू प्रसस्तै थिए ;कोही साथीहरूसँग, कोहि आफन्तहरूसँग, कोहि परिवारसँग र त्यो हूलहरूको बिचमा म एक्लै रमाउदै ती सबैसँग रमाएको थिए । लेख्न मन त धेरै छ । बत्ति आउने बित्तिकै कम्प्युटर अगाडी बसेर टाईप गर्न थालेको छू ; मन भरी रहेका कुराहरु मन्थन गर्दै छू आएको बर्ष २०१२ लाई स्वागत गर्दै छू ।             

बितेको बर्ष तपाईंहरूको कस्तो रह्यो ? शायद सबैकालागि केही तितो, केही मिठो ; केही अलि धेरै लडे होलान्, पछारिए होलान तर उठ्नु ठुलो कुरा हो । उठेर नयाँ हौसलाका साथ डटेर, दत्तचित्त भएर, अझ मिहिनेत र लगनका साथ अगाडि बढ्ने अबसर लिएर तपाइहरुका लागि नयाँ बर्ष आएको छ । केही अली धेरै सफल भएका होलान्, २०११ भरी गम्कियेर, फुर्ती र उच्च मनोबल बोकेर हिंड्न पाएका होलान् । २०१२ नयाँ चुनौतीहरू, अझ अर्को बर्षको खुशीहरू,सफल्ताका गाथाहरूमा अर्को नयाँ सफल बर्ष जोड्ने मौका दिनलाई आएको छ ।               

जीबन त एबम् रितले अगाडि बढिरहन्छ । कसैले केही पाउछन, कसैले केही गुमाउछन । पाउनु र गुमाउनुको होडमा हामी कति रोयौँ होला, कति हास्यौँ होला । कति बिरक्तिएर जाडमै चुर्लुम्म डुब्यौँ होला, ब्यथाहरू चुरोटको धुवासंगै सल्काएर पियौँ होला । कैले सूख त कैले दु:खमा मौका खोजी खोजी जीवनलाई आफ्नै अनुकुल परिभासित गर्दै पियौँ । सन् २०१२ सबैका लागि जीवन पिउने अर्को बर्ष लिएर आएको छ ।  

  सन् २०११ मेरा लागि पनि मैले माथी भने जस्तै रह्यो । कैले मैले दुई पला जिए, कैले पलले मलाई पियो । अली अली खुशीहरू दियो, अली अली दु:ख पनि । मिसावट जीवनको सत्य हो जस्तो लाग्छ । साचैँ कसैको जीवन चोखो दु:ख , बिसुद्ध खुशी मात्र छैन । जीवन सबकालागि दुधमा पानी, खान-पानमा बिसादी जस्तै छ । मेरो लागि यस्तै याबत् अनुभुतीहरू दिएर २०११ले आँगन छाडेको छ । तर मिसावटको   प्रभाबलाई कम गर्ने उपाय मैले भट्टीमा सिकेर आएँ । व्हिस्कीमा पानी र कागती मिसाए  जस्तै आफ्नो जीवनमा हाँसो र उमंग मिसाउने प्रयास निरन्तर गर्नुपर्छ । एउटा द्रिढ विश्वाश र शान्त- शुशिल मन भए ,२०१२ पक्कै पनि धेरै खुशी , थोरै दु:ख होला ।  
  
आँखा गाढिएको छ, निद्राले गाँज्न थाल्यो । आजकै जस्तो माहौल बनिरहोस् । हरेक दिन बाटोभरी हाँसेका, खुले-खिलेका मुहारहरू देख्न पाऊँ । २०१२ लाई म पनि तपाईंहरू जस्तै स्वागत गर्दै छू ।