Tuesday, May 22, 2012

मेरो देश खोज्दै

सडकहरू सुन-सान छन । सुर्यदेवलाई धन्यबाद् दिन्छु । मेरा कानहरू बिहान-बेलुकी सडक, पत्रिका, टि.भी, रेडियोमा गुन्जिने आवाजहरूले कसो बहिरा भएनन् ।  सबै जातले आफ्नो आफ्नो राज्य माग्दै गर्दा म यो चर्को घाममा मेरो देश खोज्दै छू ।

मेरो देश जहाँ म ब्राह्मनको छोरो, छिमेकी राईनी आमैलाई ठुली आमै भनेर पुकार्थें । पल्लो कोठामा जाडको घ्याम्पो हुन्थ्यो र वल्लो कोठामा मलाइ दुध चिउरा दिन्थिन । उनी परलोक गएको ८-१० बर्ष भो, उनसंगै मेरो देश'नी कता गयो कता !    मेरो देशमा कहाँ लेक मा कुनै एउटा मान्छे मर्दा, बेसिमा हाम्रा बौ-बाजे गनगन् गर्थे । मानो- पाथी थियो, K.G  भन्ने थाहा थिएन  । झुपडी थिए, पक्का घर मुस्किलले भेटिन्थ्यो । गरीब थिए तर पेट भोको कसैको थिएन । ठुला- ठुला परिवार हुन्थे, सानो परिवार सुखी परिवार भन्ने थिएन । पाउरोटी सुनेका थियौं, खान हुन्न भन्थे । मकैको रोटी या कोदाको ढीडो जिब्रो फट्काइ-फट्काइ खान्थ्यौं । बा'ले शहर घुमाउन ल्याउदा झिलिमिली थियो, रमाइलो थियो । शहर सफा  थियो । बागमती नी नुहाउन लगे; हाम्रो गाऊँको खोलो जस्तै सफा थियो ।

हा ! मेरो देश, कठै ! मेरो देश । गर्छु भन्नेले नी' गरि खान पाउने भएनन् । हरेक दिन बन्द छ, चर्का नाराहरू छन् । गर्मीले पोल्न थालेपछी म एउटा रुखको छहारिमा बस्न खोज्छु । एउटा पागल छेउमै बसेर फत्फताउदै थियो । मलाइ देखेपछी उ झन् झन् चर्को स्वोरले कराउन थाल्यो । अरु दुई चार रमितेहरू कुरा सुन्न थपिए ।

"मेरो राज्य ६०१ दलालहरूले बेच्दै छन् । तीनलाई तैं चोरहरूले देश् बेच्न पठाएको हो । त्यहाँ नाइके जति सब ब्राह्मन जातको छ बुझिस । " म स्तब्ध भएँ । कोइराला, भट्टराई, दाहाल, पौडेल, वली, नेपाल जस्ता केहीले ब्राह्मनको परिभासा फेरिदिएछन । ब्राह्मन कुनै जात होईन । ब्राह्मन सत्य हो, ब्राह्मन भक्तिमा लिप्त हुनुको अवस्था हो । ब्राह्मन ज्ञान हो, तत्वबोध हो ।   जो ब्राह्मन हो, उसका लागि जिब, निर्जिब सब समान हो । मैले भनेको छु, म ब्राह्मनको छोरो हो, स्वयम् ब्राह्मन होईन । 

"  सुक्रे पनि त यही रहेछ ।"   त्यहि हुलबाट परिचित अनुहारहरू देखा पर्छन । चिनेकाहरूले सुक्रे भनेर बोलाउछन । सुक्रात पनि बहुलाहा जस्ता थिए रे, म नी त्यस्तै छु रे ! म रातो पिरो हुन्छु । मनमनै डर लागेर आउछ । कतै देश खोज्नु पागलपन त होईन ? मलाइ अब यिनले थाहा पाए भने के  भन्लान् ?  

   साना- साना भुराहरूलाई बाबु- राजा भन्छन्, आइस्यो र गैस्यो भन्न सिकाउछन यो सहरमा । हाम्रा गाऊमा बेलुका आगनको डीलबाट " ए राडी- मुर्दारहो तिमीहरूलाई घिच्न पर्दैन ? छिट्टो मर त" भनेर खाना खान बोलाउछन अधिकान्स आमाहरू । तर शहरका बाबु- राजाहरूमा न बा- आमा प्रति, न समाज प्रति न देश प्रति कुनै लगाव छ । हाम्रा गाऊका राडी- मुर्दार धेरै जिम्मेवार र परिपक्व छन् । ती पनि म जस्तै "एकादेस"को मेरो देश खोज्दै होलान् । के म लगायत ती सबै पागल होलान् त ?

मेरो देश नेताहरूको जातिय राजनितीको हतीयार बन्दै छ । म कोँगो, रुवान्डाको जातिय द्वन्दका दर्दनिय कथाहरू सम्झन थाल्छु । म भाव सुन्य हुन्छु ।

  "ओइ सुक्रे भाई कता हिंडेको । अनी कतै नहेरी हिंडेको छौ त ?" लामा दाइको पसल अगाडी आइपुगेछु । डल्ले- डल्ले यी दाई, तमाङ लामा हुन् । यो सहरमा पढ्न बसेदेखी साँझपख गफ गर्दै चुरोट खाने गर्छौ हामी । अरु पनि बन्दले गर्दा त्यहि आएका रहेछन् । चुरोटको धुवा संगै जीवनका सूख- दु:ख देखि बाटोमा हिड्ने तरुनीलाई संगै बसेर जिस्काउदै धेरै बर्षका साँझहरू यहाँ बितेको छ ।  

 "त्यो संबिधान सभा भवनमा गएर बम पद्काइदिउ न ।" छेउमै उभिएका फर्निचर पसलका मधेसी दाईले कुरो अगाडी बढाए । त्यहाँ नी' मेरो देश खोज्दै रहेछन् सबै ।

" त्यसो गर्नु हुन्न । त्यति राम्रो भवन छ । नेपालमा फेरि त्यस्तो भवन बनाउने कोहि राम्रो मान्छे जन्मेला जस्तो छैन । तीनलाई देश निकाला गर्नु पर्छ ।" अर्का लोकसेवामा खर्दारको जाँच दिएर बसेका मास्टर साप बोले ।

"हाम्रो सुक्रे भाईको केही भन्नु छ की ?" त्यसै घरका घरबेटी दाईले सोधे ।

"मेरो देशको साशनको बागडोर  जनताको हाथमा हुनुपर्छ दाइ । दुई चारवटा पार्टीको काने-खुसिको भरमा राज्य चलिरह्यो भने यो भन्दा धेरै दुखदायी दिनहरू आउनेछन ।" म यति भन्दै चुप रहिरहे । सबै स्तबध भए । मौन स्विक्रिती जनाए । शायद म जस्तै यी पनि आफ्नो देश खोज्दै छन् ।  







              
       

No comments:

Post a Comment