Tuesday, August 16, 2011

लेख्छु लेख्छु भन्दा भन्दै.....

लेख्छु लेख्छु भन्दा भन्दै सेलाएछन् भावहरु 
स्रीजनामा केवल रह्यो शब्दका लासहरु 
पुछुँ पुछुँ भन्दा भन्दै बगेका आँसुहरु 
ओठमा सजियो फिक्का-फिस्स हाँसोहरु  ।।  

भन्छु भन्छु भन्दा भन्दै फुत्किएछन पलहरु 
यादमा बांचिरह्यो मुर्झाएका मनहरु 
भेटेँ भेटेँ भन्दा भन्दै टाढीएका आफ्नाहरु 
परायामै खोजिरह्यो मिठा नुतन स्वप्नाहरु ।।

पुगेँ पुगेँ भन्दा भन्दै हराएका गन्तब्यहरु 
होस्टे हैंन्से तालमै गुज्रिरह्यो जीवनहरु 
टेकेँ टेकेँ भन्दा भन्दै देखेका असिमित चुचुराहरु 
अन्तै भुलिरह्यो जब भित्रै थियो खुशीहरु     ।।

फर्क फर्क भन्दा भन्दै छिरेका मन्दिरहरु 
मुर्तीमै सिमित रह्यो प्रेम,श्रद्धा,विश्वाशहरु 
भरियो भरियो भन्दा भन्दै रित्तिएका मनवताहरु 
कात्रोहरु बनिरह्यो जलिनै रहे लासहरु ।।