Tuesday, October 11, 2011

मेरो मन त बौलाहा छ.....!


साँझ झमक्कै परेको छ । बर्द्घाटको बजारमा चहल पहल कम हुँदैछ । म होटेलको छतमा उभिएर आकाश नियाल्दै छु । सबै जना बियर र सितन संगै गफमा मस्त छन् होटेलको बैठकमा । म एकोहोरो पर क्षितिजसम्म हेरिरहन्छु । म उभिएको अघिल्तिर एउटा निकै शान्त,एक्लो घर छ । त्यहि घरको कुनै कोठाबाट मिठो बाँसुरीको धून मेरो कानमा बारम्बार ठोक्किरहन्छ । बाँसुरीको धून मिठो न हो तर मनको धून सार्है मिठो । 

मेरो मन त यस्तै छ । लह लह झुलेका धानका बालाहरुसंगै लहरिन्छ । बियरको चुस्की भन्दा बाँसुरीले जित्छ,झन आफ्नै लहडमा सोच्न थाले त्यहि लहडले जित्छ मेरो मनलाई । संगीतले मनको पक्षी जनमाउंछ अनी मन नितान्त रमाउंछ सुसेलिरहेको हावासंगै;मन एक्लै नाँच्छ म स्टेजबाट ओर्लिएर मेरो दर्सकलाई नाचिरहेको हेर्दा; अनी मेरो मन त बौलाहा पनि छ। यो बौलाहा मन कतिखेर त्यस दर्सकको हूलमा आएकी कुनै एक बैंन्सालु चिरिच्याट्ट परेकी तरुनीलाई ताक्न थाल्छ अनी मौजी सपनाहरु बुन्न थाल्छ । म कार्यक्रम संचालन गर्दै गर्दा मेरा दर्सकहरु स्टेजमा जोसिएर आउंछन् अनी कम्मर भाँची भाँची नाँच्न थाल्छन,गायकहरु झन मच्ची मच्ची गाउन थाल्छन: म दंग पारेर हेर्छु त्यो उत्साहप्रद भिडलाई तर मेरो मन त्यसरी शान्त रहन सक्दैन । मन उफ्रिएर भाग्छ मबाट अनी त्यहि भिडमा छम-छमी नाच्न थाल्छ । नाचेको मन कति राम्रो,खुसी मन कति राम्रो,सन्तुस्ट मन कति राम्रो...!! 

 मेरो मनले सोच्नै जानेको छैन । यो त फिरन्ते जोगी जस्तै छ । त्यसैले मेरो मन बौलाहा लागेको होला अरुलाई । मन्दिरको सिंढीमा बसेर केरा लुकाइ लुकाइ खाइरहेको बाँदरको भाग चोरुं भन्छ मेरो मन । एक्दम निर्धक्क सँग जिउंछु भन्छ मेरो मन । रिसले चुर भई पीटुला झै गरेर आउनेलाई मिठो बचन बोलेर,थपथपाएर मुसुक्क हांसिदिन्छ । बाटोमा राम्री केटी देख्यो भने अघि पछी उन्को उफ्री उफ्री दाम्लो फुकेको बाछी जस्तै नाचिदिन्छ । खोला देखे माछाहरुसंगै पौदिन थाल्छ,भ्यागुताहरुसंगै ट्यार ट्यार गीत् गाउंछ,गङ्गटाहरुसंगै लुकामारी खेल्छ ढुङ्गाको चेप चेपमा ।    

मेरो मन त घुलिन्छ नुन चिनी जस्तै हरेक अवस्थामा । दुखी देखे झन दुखी हुन्छ,गरिब देखे करुणामयी क्रन्दन गर्छ । म आफु त मासु खान्न । तर यो दशैं मैले मेरो मनको बाटो रोजें । मेरा बिरालाहरुलाई मासु ख्वाएं । तीनले छिमेकीको घरको झ्याल अगाडि हेरेर बसेको मेरो मनले सहनै सकेन । मेरो मन यस्तै छ; दुध चोर्न आउने बिरालाहरुसंगै लय हाली हाली म्याँउ गर्छ,जुन्किरीसंगै रातमा सैर गर्छ,ताराहरुलाई आँखा झिम्क्याउँछ अनी पर पर क्षितिजसम्म बादलसंगै लहरिन्छ । आम जिवनहरुभन्दा फरक छ, धेरै धेरै नै प्रिथक छ ।त्यसैले होला सबैका लागि मेरो मन बहुलाएको.............!!