Monday, August 29, 2011

म त खुशी चोर्छु....!

जीवन,जगतका बारेमा लेख्नेहरु दार्सनिक हुन भन्छन् मैल भेटेका मान्छेहरु । कोहि यिनलाई पागलहरु भन्छन् । म त यिनमा आँफैलाई पाउंछु । म Stephen Covey का  शब्दहरुलाई घोलेर पीउंछु ,सुक्रातका कथनहरु उघ्राऊंछु,गीताका बाणीहरु ओकल्छु, बुद्धका बचनहरु समाउछु अनी यिनै पागलहरु जस्तै मुर्छा परि हाँस्छु । सुखमा नी हाँसेकै छु,दुखमा रमाएकै छु,फुर्किएर मन दुख्दा पनि नाचेकै छु ।  मलाई हाँसेको देख्दा कतिले कति दंग पर्न सक्या भने, कतिले लाज पचाएको भने ,कतीले सरम नभएको भने,कतीले भावनाको कदर नभएको भने अनी कतिले कस्तो चोर जस्तो हाँसेको भने !  म त चोर हो नै । म त खुशी चोर्छु ।  

एक इमान्दर पिताको छोरो म, एक कर्तब्यनिस्ट अधिक्रितको दाई म अनी ब्रहमा, बुद्ध, सरस्वोती र लक्ष्मी समाहित भएको देवी स्वरुपा आमाकी छोरो म; म कसरी पैसा चोरु, म कसरी अपराध गरुं ?त्यसैले कसैले सबुत प्रमाण नपाउने चोर बने, कुनै कानुनले रोक्न नसक्ने चोर बने । म त खुशी चोर बने ।

 जीवन र जगतका बिषयहरु हरेक ब्यक्ति माथि रहेको  नद जस्तै अनन्त छ । त्यसको न चुरो छ, न त चुली नै । विज्ञान बटुवा हो,यसको शरणमा बेला बेलामा हान्निएर पुग्दछ अनी कनिकुथी पस्कन्छ ।  ती पस्किएका कुराहरु सोध बन्छन्,खोज बन्छन्, तीनले अविस्कार गर्छन् अनी त्यस अविस्कारले मानव जीवनको भोगाइको अनुभब बदलिदिन्छ ।  तर दर्शन बद्लिन्न । संस्कार बदलिन्छ । व्याख्या गर्ने दृष्‍टिकोण बदलिन्छ । ती पगलका दर्शनहरु दुरुस्तै रहिरहन्छन युगौं-युगसम्म ।  ती मेरा पुज्य पागलहरु,दार्सनिकहरु,गुरुहरु भन्छन् जीवन सत्य भएर जीउने,जीवन खुशीले जीउने अनी खुशी आँफै भित्र निहित कुरा हो । 

  खुशी हरेक भित्रको निहित कुरा हो भने,संसारमा दुखी किन यति धेरै उम्रिएका,जीवनहरु किन यति धेरै पिल्सिएका,मनहरु यति धेरै के का लागि गुम्सिएका? जति बिकसित समाज,उती जटिल अनी दुखी आत्माहरु; प्रेतले सताएका जस्ता!समाजहरु सुख,खुसी बिहिन कंकालहरु बन्दै छन् ।   म दंग परेर हेर्छु बाटोमा पत्नीसँग ठुस्किदै हिंडेको पतीलाई; म अचम्मित भएर हेर्छु नाकको पोहोरा फुलाउंदै आफ्नो प्रेमीसँग रिसाएर ठिम-ठिम हिंडेकी राम्री प्रेमिकालाई; म कान ठाडो  पार्दै सुन्छु ल्यान्ड क्रुइसेर (land cruiser)  भित्र  बसेर फोनमा आफ्ना प्रियजनलाई हप्काइरहेकी एक महिलालाई; म अवाक भएर हेर्छु dendrite सुंघिरहेका सडकका केटा-केटीहरुलाई;जीवन जीउन पैसा मात्रैले पुग्दैन,न की प्रेम, सम्बन्धहरु, सुबिधाहरु  :जीवन जीउन त यिनलाई सहि मात्रमा मिसाउने कला,दक्षता,कुसलता चाहिन्छ ।    

  म न त कुनै दार्सनिक हो,न पागल, न कबी, न लेखक ; मेरा न पत्रीका छन्, न प्रकाशन । म न त कारमै हिंड्छु, न कोहि एकलाई प्रेमनै गर्न सकेको छु । मेरो जीवन त कपासका भुवा जस्ता ती काला-सेता बादलहरु जस्तो छ जस्को छिद्राहरुबाट किरणहरु निस्कन्छन्; आशाका,भरोसाका,सुर्यका,सौर्यका,उत्साहका किरणहरु । जीवनका आरोह अबरोहहरुमा,उतार चढावहरुमा म ती बादलका छिद्राहरुमा खुसिका कल्पद्रुमहरु उमार्छु । 

अरु ब्यक्तिहरु खुशी खोज्न पीउँछन्,खुसी हुन सम्बन्धहरु रोज्छन्,अवसरहरु कुर्छन- म त चोर्छु । देखेजती,भेटेजती ,पाएजती,सकेजती खुशी चोर्छु ।   म अलिकति खुशी तरकारी बेचेर दंग पर्दै खर्पन हल्लाउंदै हिडिरहेको ज्यापुको चोर्छु,अली अली खुशी फोनमा मस्किदै केटालाई गफ दी'रहेकी केटीको मुस्कानबाट चोर्छु,टन्न दुध भात खान पाएपछी रमाउदै कुस्ती खेल्ने मेरा बिरालाहरुसित सापटी थोरै खुशी लिन्छु,म त सारौं जस्तै बुत्रुक्क खुशीले उफ्रिदै हिडिरहेकी क्यान्सर पीडित केटी मेरो कुरा सुनेर खित्का छाडी हाँस्छे- थोरै खुशी उस्को सुटुक्क चोर्छु ।  हरपल हर क्षण म त खुशीको  पोका-पुन्तुरा बोकेकेा मानिस,पक्षी,जनावर,प्रक्रितीको पर्खाइमा हुन्छु । थोरै थोरै खुशी सबको चोरि म धेरै खुशी हुन्छु ।                         

      

Friday, August 19, 2011

मेरी आमा : जन्मदिनको सुखद अवसरमा

"हेल्लो.. हे...हेल्लो...आमा.. !"
म त झसँग भएँ । मस्त निद्रामा थिए । आँखा च्यातेर बल्जफ्ती हेरेँ । मेरो आमालाई उनकी आमाको फोन आएको रहेछ । राम्ररी आवाज नसुनेकोले यता ऊता कुद्दै हुनुहुदों रहेछ । मेरो मामाघरे हजुरआमाको उमेर चाँही चौरानब्बे ।
 हत्तेरी गाँठे !मेरो त सुद्दी गएछ जस्तो लाग्यो नी एकचोटी त । चौरानब्बे बर्षकी हजुरआमाले जिते यो'पाली । जीउ मर्काउदै उठें ।
"ए मेरो जेठा अझै उठेको छैनौ?"  
 मेरी आमा हाँस्दै म'तिर आउनु भयो । हातमा पूजाको थाली थियो । मेरो जन्मदिनमा म उठ्नुपुर्व नै मेरो आमालाई जैले मेरो छेउमा पाउछु ।  मलाई म्वाइ खाएर सुभकामना दिएपछी जबर्जस्ती नुहाउन र पूजा गर्न लगाउनु  हुन्छ । मेरी आमा र उनको आमालाई हेर्दा देवी खोज्न मन्दिर जानु पर्दैन जस्तो लाग्छ । आमा खाट छेउमै आएर बस्नु'भो ।
"Happy Birthday आमै"। मैले लाडिएर आमालाई अँगालो हाले अनी दुबै गालामा म्वाइ खाए । आमा हाँस्दै भान्छा घरतिर लाग्नु'भो ।
मैले मेरो आमाको धेरै गुणहरु आफूमा पाएको छु । मेरो आमा जस्तै म पनि जन्म देखि साकाहरी भोजन गर्छु । मलाई अरु कुनै ब्यक्ति मांसाहारी भएकोमा आपत्ति भने छैन । तर मेरो आमालाई छ ।मेरो घरभित्र अण्डा ल्याउन पनि सख्त मनाही छ । यति मात्र कहाँ हो र ! पहाड घरमा आमा सानो छँदा एउटा टोल नै साकाहरी भएको थियो रे । मेरो मामाघर भन्दा माथि कामी टोल थियो । मामाघरको आगँन भएर कामी टोलको बाटो जान्थ्यो । उनीहरु डोकोमा हालेर मासु र रक्सी ओसार पसार गर्थे रे ! एकदीन मेरो आमाले थाहा पाउनु भएछ र रुदा रुदा बेहोस् हुनुभएछ । मेरो आमा त गाउँकै छोरी हुनुहुन्थ्यो रे ! त्यस दिन देखिबाट त्यो गाउमा  कसैले मासु खाएन रे !
 आमा भन्नु हुन्छ,शरणमा आएको भिक्षु र जनावरलाई खाली हाथ र खाली पेट नफर्काउनु रे,रिसाएको साँढेको बाटो नछेक्नु रे अनी बैगुणलाई गुणले तिर्नु रे । बैराग्य प्राप्त गरेका र भोकोलाई दिंदा करुणा र दयाभाव पैदा हुन्छ । आवेसमा आएकाहरुलाई उनीहरुकै अवस्थामा छोड्नाले आफुमा धैर्य प्राप्ती हुन्छ । आफ्नो नराम्रो चिताउनेको राम्रो गर्नाले खराब सोच र संगतबाट सदा टाढा भइन्छ रे ।
 त्यसैले होला मेरो आमा सधैं हस्नी खुशी रहन सकेको । त्यसैले होला टोल छिमेकमा मर्दा-पर्दा,चाड-पर्व,खुसी बाड्नुपर्दा मेरो आमाको खोजी हुन्छ ।    यस्ती मेरी आमाको चरणमा सदा मेरो सिर रहोस् ।  


Tuesday, August 16, 2011

लेख्छु लेख्छु भन्दा भन्दै.....

लेख्छु लेख्छु भन्दा भन्दै सेलाएछन् भावहरु 
स्रीजनामा केवल रह्यो शब्दका लासहरु 
पुछुँ पुछुँ भन्दा भन्दै बगेका आँसुहरु 
ओठमा सजियो फिक्का-फिस्स हाँसोहरु  ।।  

भन्छु भन्छु भन्दा भन्दै फुत्किएछन पलहरु 
यादमा बांचिरह्यो मुर्झाएका मनहरु 
भेटेँ भेटेँ भन्दा भन्दै टाढीएका आफ्नाहरु 
परायामै खोजिरह्यो मिठा नुतन स्वप्नाहरु ।।

पुगेँ पुगेँ भन्दा भन्दै हराएका गन्तब्यहरु 
होस्टे हैंन्से तालमै गुज्रिरह्यो जीवनहरु 
टेकेँ टेकेँ भन्दा भन्दै देखेका असिमित चुचुराहरु 
अन्तै भुलिरह्यो जब भित्रै थियो खुशीहरु     ।।

फर्क फर्क भन्दा भन्दै छिरेका मन्दिरहरु 
मुर्तीमै सिमित रह्यो प्रेम,श्रद्धा,विश्वाशहरु 
भरियो भरियो भन्दा भन्दै रित्तिएका मनवताहरु 
कात्रोहरु बनिरह्यो जलिनै रहे लासहरु ।।